२०८३ असार २५ बिहीवार | Thursday, Jul 09 2026

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ।

खेलमा २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १२ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टले सुरुआतदेखि नै अर्जेन्टिनामाथि दबाब बनाएको थियो।

१५औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाए।

२२औँ मिनेटमा अर्जेन्टिनाले बराबरी गर्ने अवसर पाए पनि कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहार इजिप्टका गोलरक्षक मोस्टाफा शोबेइरले उत्कृष्ट बचाउ गरे।

त्यसपछि ६७औँ मिनेटमा मोस्ताफा जिकोले काउन्टर अट्याकमा दोस्रो गोल थपेपछि अर्जेन्टिनाको यात्रा त्यहीँ टुङ्गिने संकेत देखिएको थियो।

तर त्यसपछि खेलको चित्र नै बदलियो। ७९औँ मिनेटमा मेस्सीको सटिक क्रसलाई क्रिस्टियन रोमेरोले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे।

८३औँ मिनेटमा मेस्सीले व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।

इन्जुरी समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले निर्णायक प्रहार गर्‍यो। लाउटारो मार्टिनेजको उत्कृष्ट पासमा एन्जो फर्नान्डेजले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए।

निर्णायक गोलअघि इजिप्टले पेनाल्टीको माग गरे पनि खेल जारी राख्ने रेफ्रीको निर्णय विवादको विषय बन्यो।

त्यसपछि इजिप्टका खेलाडी र प्राविधिक टोलीले तीव्र असन्तुष्टि जनाएका थिए। विरोधका क्रममा मुख्य प्रशिक्षक होसाम हसन र गोलकिपर मोस्टाफा शोबेइरले पहेँलो कार्ड पाए भने प्रशिक्षक समूहका एक सदस्य रातो कार्डको भागीदार बने।

यो जितसँगै अर्जेन्टिनाले विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ, जहाँ उसले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

यता, कप्तान लियोनल मेस्सीले प्रतियोगितामा आफ्नो गोल संख्या ८ पुर्‍याउँदै गोल्डेन बुटको दौडमा अग्रता कायम राखेका छन्।

साथै, विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ।

उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा लय जोगाउन नसक्दा इजिप्टको विश्वकप यात्रा भने अन्तिम १६ मै समाप्त भएको छ।

Untitled
Untitled
Untitled