२०८३ असार २५ बिहीवार | Thursday, Jul 09 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला : पूर्वमन्त्री खाँण र रायमाझी दोषी ठहर, सजाय निर्धारण असार २९ मा

Untitled
Untitled
Untitled

काठमाण्डौ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले महत्वपूर्ण फैसला सुनाउँदै पूर्वगृहमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको परिचय दिई अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ असुल्ने संगठित ठगी प्रकरणमा अदालतले विभिन्न अभियुक्तको भूमिकाअनुसार कसुर कायम गरेको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको संक्षिप्त आदेशअनुसार तात्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण ठगी तथा संगठित अपराधमा मतियारु अर्थात् सहयोगीको भूमिकामा दोषी ठहर भएका छन्।

यस्तै, तात्कालीन उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

रायमाझी यसअघि पुर्पक्षका लागि कारागारमा रहेका थिए भने खाण उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका थिए।

अदालतले यो प्रकरणलाई सामान्य आर्थिक ठगी मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि गम्भीर असर पार्ने अपराधका रूपमा व्याख्या गरेको छ।

आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने योजनाले नेपालको अन्तर्राष्ट्रिय छवि र राज्य प्रणालीप्रति विश्वासमा नकारात्मक प्रभाव पारेको अदालतको निष्कर्ष छ।

राज्यविरुद्धको कसुरमा पनि दोषी

अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी तथा आङटावा शेर्पालाई पनि राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

फैसलाअनुसार उनीहरूले सरकारी संयन्त्र, कागजात र प्रशासनिक प्रक्रियाको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा नक्कली शरणार्थी सूची तयार पार्ने तथा त्यसलाई वैधानिकता दिलाउने प्रयासमा भूमिका खेलेका थिए।

खाँणसहित थप पाँच जना मतियार

खाँणसँगै अन्य पाँच जनालाई पनि संगठित ठगीमा मतियारको भूमिकामा दोषी ठहर गरिएको छ।

दोषी ठहर हुनेहरूमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाँणका तात्कालीन स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका पूर्वअध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन तथा निरञ्जनकुमार खरेल रहेका छन्।

अदालतले उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नीति निर्माण, व्यवस्थापन, समन्वय तथा प्राविधिक सहयोगमार्फत ठगी कार्यलाई सहज बनाएको उल्लेख गरेको छ।

केही अभियुक्तले पाए सफाइ

यसैबीच, प्रमाण पर्याप्त नपुगेको भन्दै अदालतले केही अभियुक्तलाई भने सफाइ दिएको छ।

सफाइ पाउनेमा रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

यद्यपि, प्रकरणका मुख्य विचौलियामध्ये मानिएका बेचन झालाई भने ठगी कसुरमा दोषी ठहर गरिएको छ।

३० जना प्रतिवादी, फरारको मुद्दा मुल्तवी

यस बहुचर्चित प्रकरणमा कुल ३० जनालाई प्रतिवादी बनाइएको थियो। फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ।

दोषी ठहर भएका सबै अभियुक्तको सजाय निर्धारण भने असार २९ गते हुने अदालतको आदेशमा उल्लेख छ।

त्यस दिन अदालतले कसुरको प्रकृति, अभियुक्तको भूमिका तथा कानुनी व्यवस्थाअनुसार कैद, जरिवाना र अन्य सजाय निर्धारण गर्नेछ।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमा पछिल्ला वर्षहरूकै सबैभन्दा चर्चित राजनीतिक तथा आपराधिक मुद्दामध्ये एक मानिन्छ।

यो प्रकरणमा उच्च राजनीतिक नेतृत्व, पूर्वप्रशासक, कर्मचारी तथा विचौलियाको संलग्नता देखिएको भन्दै अनुसन्धान र अभियोजन प्रक्रियाले व्यापक राष्ट्रिय चासो पाएको थियो।

अब सजाय निर्धारणपछि यो बहुचर्चित मुद्दाले थप कानूनी निष्कर्ष प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Untitled
Untitled
Untitled