२०८३ असार २५ बिहीवार | Thursday, Jul 09 2026

स्विजरल्याण्ड कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकप क्वार्टरफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार बिहान भएको रोमाञ्चक प्रतिस्पर्धामा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

तनावपूर्ण सुटआउटमा स्विजरल्याण्डका रुबेन भर्गासले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अन्तिम आठमा पुर्‍याए।

स्विजरल्याण्डका सेड्रिक इटेन, जाकी अम्दौनी र ग्रानिट झाकाले पनि सफल प्रहार गरे भने म्यानुएल अकान्जीको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो।

कोलम्बियाका तर्फबाट लुइस डियाज र जुआन क्विन्टेरोले गोल गरे पनि डेभिन्सन सान्चेजको प्रहार असफल रह्यो।

कुचो हर्नान्डेजको पेनाल्टीलाई स्विस गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए।

खेलभर कोलम्बियाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि स्विजरल्याण्डको अनुशासित र सशक्त रक्षापङ्क्ति भेद्न सकेन।

स्विस टोलीले रक्षात्मक रणनीतिलाई प्रभावकारी रूपमा लागू गर्दै कोलम्बियाका आक्रमणकारी खेलाडीहरूलाई खुला अवसर दिनबाट रोकेको थियो।

पराजयसँगै कोलम्बियाका खेलाडीहरू भावुक बने। लुइस डियाज आँसु लुकाउँदै मैदानबाट बाहिरिए भने अनुभवी जेम्स रोड्रिगेजका लागि यो विश्वकप यात्रा सम्भवतः अन्तिम बनेको छ।

यो ऐतिहासिक जितसँगै स्विजरल्याण्ड १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो।

अब सेमिफाइनल प्रवेशका लागि उसले आगामी आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

Untitled
Untitled
Untitled