२०८३ असार १९ शुक्रवार | Friday, Jul 03 2026

मेघगर्जन र चट्याङसहित वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गर्दै विशेषगरी पहाडी तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले दिनभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ।

पहाडी भू-भागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने अनुमान पनि गरिएको छ।

पूर्वानुमानअनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि मनसुनी प्रभाव कायम रहने भएकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

पहाडी भू-भागका धेरै स्थान र तराईका केही क्षेत्रमा रातिसमेत वर्षा जारी रहने सम्भावना रहेको छ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी जिल्ला तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका ए/दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने र होचा भू-भागमा डुबानको जोखिम रहने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आवश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन तथा स्थानीय प्रशासनले जारी गर्ने सुरक्षा सूचनाको पालना गर्न पनि विभागले अनुरोध गरेको छ

Untitled
Untitled
Untitled