२०८३ साउन ६ बुधवार | Wednesday, Jul 22 2026

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु परिवर्तनबारे जनचेतना फैलाउने अभियान

Untitled
Untitled
Untitled

काठमाण्डू, जलवायु परिवर्तनप्रति नागरिकको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली कांग्रेसले बुधबार काठमाडौं उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ।

blog

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत कांग्रेसले वातावरण संरक्षण, हरित विकास र जलवायु संकटविरुद्ध सामूहिक प्रतिबद्धताको सन्देश दिएको हो।

बिहान आयोजित ‘ग्रीन रन’मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित पार्टीका केन्द्रीय पदाधिकारी, नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासका पक्षमा ऐक्यबद्धता जनाउँदै दौडमा सहभागिता जनाएका थिए।

यो कार्यक्रम कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रममध्ये एक हो।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको ‘ग्रीन रन’ले जलवायु परिवर्तनले निम्त्याइरहेको चुनौतीप्रति समाजलाई सचेत गराउने र वातावरणमैत्री जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रममार्फत जलवायु परिवर्तन अब केवल वातावरणीय मुद्दा मात्र नभई आर्थिक, सामाजिक र मानव जीवनसँग प्रत्यक्ष जोडिएको विश्वव्यापी चुनौती भएको सन्देश प्रवाह गरिएको थियो।

बढ्दो तापक्रम, अनियमित वर्षा, बाढी, पहिरो, हिमालको हिउँ पग्लिने क्रम तथा प्राकृतिक विपद्का घटनाले नेपालजस्तो हिमाली राष्ट्रलाई गम्भीर असर पारिरहेको सन्दर्भमा वातावरण संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कांग्रेसले पछिल्लो समय वातावरण संरक्षण, हरित अर्थतन्त्र, नवीकरणीय ऊर्जाको प्रयोग र दिगो विकासका विषयलाई आफ्ना नीतिगत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

सोही अभियानलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप ‘ग्रीन रन’ आयोजना गरिएको पार्टीको भनाइ छ।

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेसले देशभर विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा सामाजिक सेवामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

‘ग्रीन रन’लाई पनि सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रतिको राजनीतिक प्रतिबद्धताको प्रतीकात्मक अभियानका रूपमा हेरिएको छ।

Untitled
Untitled
Untitled