काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मङ्गलबार र बुधबार देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मनसुन थप सक्रिय हुँदै गएकाले विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन प्राधिकरणले अपिल गरेको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले कर्णाली प्रदेशबाहेक देशका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
लगातार वर्षा भएपछि नदी तथा खोलामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने, आकस्मिक बाढी आउने, पहिरो खस्ने, भूक्षय, कटान तथा डुबानको जोखिम उच्च रहने भएकाले समयमै पूर्वतयारी आवश्यक रहेको प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणले विशेष गरी नदी किनार, खोला आसपास, पहिरोको जोखिम भएका भिरालो बस्ती तथा डुबान हुने सम्भावना भएका स्थानका बासिन्दालाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्न, सुरक्षित स्थानको पहिचान गरेर आवश्यक परे तत्काल स्थानान्तरण हुन र परिवारका सदस्य तथा छिमेकीलाई समेत सचेत गराउन सुझाव दिइएको छ।
यस्तै, वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडकमा पहिरो खस्ने र सडक अवरुद्ध हुने जोखिम बढ्ने भएकाले यात्रामा निस्कनुअघि मौसम र सडक अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरिएको छ।
जोखिमयुक्त सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।
सम्भावित विपद्को प्रभावलाई न्यून गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
सम्भावित सडक अवरोध तत्काल हटाउन डोजर, एक्साभेटर, लोडरलगायतका भारी उपकरण जोखिमयुक्त राजमार्ग र सडकखण्ड नजिक तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।
पूर्वतयारी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न सरकारी तथा गैरसरकारी साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरेर आवश्यक जनशक्ति, स्रोत र सामग्री तयारी अवस्थामा राख्न पनि प्राधिकरणले अनुरोध गरेको छ।
साथै, बाढी तथा वर्षासम्बन्धी सूचना प्राप्त गर्न ११५५ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
आकस्मिक उद्धार तथा सहयोग आवश्यक परे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
प्राधिकरणले मनसुन अवधिभर जल तथा मौसम विज्ञान विभाग र आफ्नो कार्यालयबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, चेतावनी तथा सूचनालाई नियमित रूपमा पछ्याउन सबै नागरिकसँग आग्रह गरेको छ।
समयमै अपनाइने सतर्कता, पूर्वतयारी र समन्वयले बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने प्राधिकरणको विश्वास छ।


































