काठमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सत्तापक्षकै सांसदहरूको विरोधका कारण विवादमा परेको छ।
बजेट मन्त्रीकेन्द्रित र असन्तुलित रहेको भन्दै एमाले र कांग्रेसका सांसदहरूले संशोधनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पारितपछि मन्त्रिपरिषद्बाट माग सम्बोधन गर्ने आश्वासन दिएपनि असन्तुष्ट सांसदहरूले ूपहिले संशोधन, त्यसपछि मात्र बजेट पारितू भन्ने अडान लिएका छन्।
उनीहरूले विगतका आश्वासन कार्यान्वयन नभएको भन्दै यसपटक लिखित र तत्काल परिणाम चाहिने बताएका छन्।
विवादका कारण प्रदेशसभा बैठक असार १६ गतेसम्म स्थगित गरिएको छ।
सरकार पक्षले संसद्मा मन्त्रीमार्फत प्रतिबद्धता जनाएर बजेट पारित गर्ने विकल्प अघि सारेपनि असन्तुष्ट पक्षले संशोधनबिना स्वीकार नगर्ने जनाएको छ। सहमति नजुटे बैठक पुनः स्थगित हुने वा सत्तापक्षकै सांसदले विरोध गर्ने सम्भावना रहेको छ।


































