२०८३ असार १५ सोमवार | Monday, Jun 29 2026

काठमाण्डौ उपत्यकामा ट्राफिक निगरानी कडा, २४ घण्टामै १,९२२ चालक कारबाहीमा

Untitled
Untitled
Untitled

काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि प्रहरीले कारबाहीलाई निरन्तर कडाइ गरेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार ९२२ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई लक्ष्य बनाएर नियमित निगरानी र चेकजाँचलाई तीव्र बनाइएको कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९२ जना रहेका छन्।

त्यसैगरी नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने ७८ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जना चालकलाई पनि कानुनअनुसार कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने ६७ जना, कालो सिसा जडान गरिएको सवारी सञ्चालन गर्ने १० जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७० जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

यसका अतिरिक्त कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी अन्य नियम उल्लङ्घन गर्ने लगायतका विभिन्न कसुरमा एक हजार २९६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा विशेष निगरानी, चेकिङ तथा सचेतनामूलक अभियान सञ्चालन भइरहेको जनाएको छ।

साथै सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

Untitled
Untitled
Untitled