२०८३ असार १५ सोमवार | Monday, Jun 29 2026

तीन–चार दिनभित्र देशभर फैलिने मनसुन, कोशी र मधेशमा भारी वर्षाको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डौ । नेपालमा मनसुन विस्तारको प्रक्रिया तीव्र बन्दै गएको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग, गण्डकी प्रदेशका केही जिल्ला तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने बाँकी क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन पूर्ण रूपमा फैलिने सम्भावना रहेको छ।

यससँगै देशभर वर्षाको गतिविधि थप बढ्ने अनुमान गरिएको छ।

हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

आज देशभर वर्षाको सम्भावना

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ।

तराईका केही जिल्लामा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्ले जनाएका छन्।

राति पनि वर्षाको क्रम जारी रहने

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि रातिको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा र हावाहुरीको जोखिम

मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

साथै मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

यसले दैनिक जनजीवन, कृषि कार्य, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

महाशाखाले भारी वर्षा, चट्याङ, हावाहुरी तथा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण, यात्रु, किसान तथा सम्बन्धित निकायलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Untitled
Untitled
Untitled