२०८३ असार १७ बुधवार | Wednesday, Jul 01 2026

सात प्रदेश अभियानको अन्तिम कडी, आज लुम्बिनीमा देउवा समूहको भेला

Untitled
Untitled
Untitled

रूपन्देही, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आज दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय नेता–कार्यकर्ता भेला आयोजना गर्न लागेको छ।

तयारी अपुग भएको कारण यसअघि स्थगित गरिएको कार्यक्रम संशोधित तालिकाअनुसार आज हुन लागेको हो।

देशभर सञ्चालन गरिएको प्रदेशस्तरीय अभियानको समापनस्वरूप आयोजना हुन लागेको यो भेला सातै प्रदेशमध्ये अन्तिम कार्यक्रम हो।

पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्ने, महाधिवेशनपछि निष्क्रिय वा असन्तुष्ट बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने तथा संगठनलाई थप गतिशील बनाउने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ।

पूर्वसभापति देउवा विदेश भ्रमणमा रहेकाले कार्यक्रमको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।

भेलामा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा संगठन विस्तारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

कार्यक्रममा कांग्रेसका नेता गुरु बराल, किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्दै पार्टीभित्रको एकता, कार्यकर्ता परिचालन र आगामी राजनीतिक कार्ययोजनाबारे धारणा राख्नेछन्।

देउवा पक्षले प्रदेशस्तरीय भेलामार्फत संगठनलाई थप सक्रिय बनाउने, कार्यकर्ताबीचको समन्वय सुदृढ गर्ने तथा पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवादमार्फत सम्बोधन गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

Untitled
Untitled
Untitled