एजेन्सी, चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवाले विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत एकलतर्फको उपाधि जितेकी छन् ।
उनले पहिलोपटक विम्बल्डन टेनिस उपाधि जितेकी हुन् ।
शनिबार लण्डनस्थित सेन्ट्रल कोर्टमा इटालीकी जास्मिन पाओलिनीलाई २–१ सेटले हराउँदै क्रेजिकोवा च्याम्पियन बनिन् ।
पहिलो सेट ६२ ले आफ्नो पक्षमा पारेकी क्रेजिकोवाले दोस्रो सेट २–६ ले गुमाएकी थिइन् ।
तर, क्रेजिकोवा तेस्रो तथा निर्णायक सेटमा ६–४ ले विजयी भइन् । समग्रमा उनको यो दोस्रो एकल ग्रान्डस्लाम उपाधि हो ।
यसअघि उनले सन् २०२१ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । यस्तै, क्रेजिकोवाले सन् २०२१ र २०२२ मा महिला युगलतर्फको विम्बल्डन उपाधि पनि जित्न सफल भएकी थिइन् ।
पाओलिनी भने लगातार दोस्रो ग्रान्डस्लाम फाइनलमा पराजित भइन् । उनी फ्रेन्च ओपनको फाइनलमा इगा स्वायटेकसँग पराजित भएकी थिइन् ।
पुरुषतर्फको उपाधिका लागि आज कार्लोस अल्कारेज र नोभाक जोकोभिच प्रतिस्पर्धा गर्ने छन् ।