विराटनगर, विराटनगर विमानस्थलभित्र यात्रुहरूमाथि खुलेआम मूल्य शोषण भएको तथ्य बाहिरिएपछि उपभोक्ता अधिकारको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
लामो समयदेखि दोब्बर–तेब्बर मूल्य असुलिँदै आएको गुनासोका बीच जिल्ला प्रशासन कार्यालय मोरङले कडा कदम चाल्दै चार व्यवसायलाई १२ लाख रुपैयाँ जरिवाना गरेको छ।
विमानस्थलजस्तो सीमित विकल्प र उच्च संवेदनशीलता भएको क्षेत्रमा उपभोक्तामाथि हुने यस्तो असमान व्यवहारले सेवा क्षेत्रको नैतिकता र नियमन क्षमतामाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।
आकस्मिक अनुगमनपछि सार्वजनिक भएका तथ्यहरूले व्यवसायहरूले अंकित मूल्यको बेवास्ता गर्दै मनोमानी रूपमा मूल्य निर्धारण गर्दै आएको देखाएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा ममता होटलले १०० रुपैयाँ पर्ने चकलेट २०० रुपैयाँमा बिक्री गरेको पाइएको छ।
त्यस्तै ग्यालेक्सी क्याफे एन्ड होटल प्रालिले ५० रुपैयाँको कोक १६० रुपैयाँमा बिल काटेर बिक्री गरेको पुष्टि भएको छ।
गरिमा क्याफेले ५० रुपैयाँको कोक ८० रुपैयाँमा बिक्री गरेको र अनुकुल होटल एन्ड भान्छा घरले सामान्य मूल्यभन्दा धेरै बढीमा चकलेट बिक्री गरेको फेला परेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार स्पष्ट रूपमा मूल्य सूचि विपरीत बिक्री गरेको ठहर गर्दै चारै व्यवसायलाई जनही ३ लाख रुपैयाँका दरले कारबाही गरिएको हो।
प्रशासनका अनुसार कुल १२ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।
यात्रुहरू बाध्यताका कारण बढी मूल्य तिर्नुपर्ने अवस्थाले बजार अनुशासन र उपभोक्ता संरक्षण प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।
प्रशासनले आगामी दिनमा विमानस्थल तथा अन्य सार्वजनिक सेवा क्षेत्रहरूमा नियमित अनुगमन कडा बनाइने बताएको छ।
अनुगमन टोलीमा प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, प्रहरी तथा उपभोक्ता हित संरक्षण मञ्च कोशी प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
































