एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । जारी सिजिनमा गुजरातको यो तेस्रो जीत हो ।
आफ्नो पाँचौं खेलमा राजस्थानले दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । गुजरातलाई जीतका लागि अन्तिम ६ ओभरमा १५ रन आवश्यक थियो ।

यो ओभरको पहिलो बलमा राशिद खानले चौका हिर्काए । दोस्रो बलमा दुई रन जोडेका उनले तेस्रो बलमा चौका प्रहार गर्दै टिमलाई जित नजिक पुर्याए ।
उनले चौथो बलमा एक रन जोड्दै राहुल तेवटियालाई स्ट्राइक दिए । तर, उनी पाँचौं बलमा तीन रन जोड्ने चक्करमा रनआउट भए ।
अन्तिम बलमा गुजरातलाई जीतका लागि दुई रन आवश्यक थियो । निकै रोमाञ्चक बनेको उक्त ओभरको अन्तिम बलमा राशिदले चौका हिर्काउँदै गुजरातलाई जित दिलाए ।
उनले यस खेलमा ११ बलमा चार चौकासहित अविजित २४ रन जोडे ।
गुजरातको जीतमा ‘हिरो’ साबित भएका राशिद ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाए ।
त्यस्तै, साई सुदर्शनले ३५, राहुल तेवटियाले २२, विजय शंकरले १६ र शाहरुख खानले १४ रनको योगदान दिए ।
राजस्थानका लागि कुलदीप सेनले तीन, युजवेन्द्र चहलले दुई र आवेश खानले एक विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि रियान परागले ७६, कप्तान सञ्जु स्यामसनले ६८, यशस्वी जैसवालले २४ र शिमरोन हेटमायरले अविजित १३ रन बनाए ।
गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एक/एक विकेट लिए । यो जीतपछि गुजरातले ६ खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको छैटौँ स्थानमा छ ।
पहिलो हार बेहोरेको राजस्थानले ५ खेलमा ८ अंक जोडेको छ । ऊ अहिले पनि तालिकाको शीर्ष स्थानमा कायमै छ ।

आइपिएलमा बिहीबार मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्दै छन् । जारी सिजनमा यी दुवै टिम जीतका लागि संघर्ष गरिरहेका छन् ।
बेंगलुरले पाँच खेल खेल्दा चारमा हार तथा एक खेलमा मात्र जीत निकालेको छ । मुम्बईले चार खेलमध्ये तीनमा जीत र एक खेलमा जीत हात पारेको छ ।


































