काठमाडौं, विक्रम संवत् २०८१ वैशाख १ गते आज नयाँ वर्षको पहिलो दिन।
आजबाट सूर्यले मीन राशिको समय पूरा गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् वर्षको जेठो ( पहिलो ) दिन हो ।
नेपालभर र बाहिर रहेका सबै नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको पहिलो दिन हर्ष,र खुशीसाटासाट गरी मनाइँदै छ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको मानिन्छ । आज नयाँ वर्ष आरम्भको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन खाएर सांस्कृतिक उत्सव आयोजन गर्दै नयाँ वर्ष विशेष पर्वको रूपमा मनाउने प्रचलन छ ।
आज बिहानै स्नान गर्ने, धार्मिक आस्थामा विश्वास गर्नेले मन्दिर वा आफ्नो आस्था अनुरूपको धार्मिक स्थलमा गई प्रार्थना गर्ने, घर आँगन सफा गर्ने, मिठो–मिठो परिकार बनाएर परिवारजन, इष्टमित्र वा साथीभाइसँग बसेर खाने, भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्ष भरी नै सफलता मिल्ने जनविश्वास छ।
नयाँ वर्षको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतले आम नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
आजको दिन नयाँ कामको थालनी गर्ने तथा जीवनमा सफलता प्राप्त गर्न नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ ।

































