काठमाडौ, विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
विजेता खेलाडीहरूलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने, मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ ।
देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
‘विश्वकप छनोटका लागि तपाईंहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुस्खमा साथमै हुनेछ’, प्रधानमन्त्री दाहालले भने, यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाखले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’, प्रधानमन्त्रीले अगाडि भने, यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
नेपालले बिहीबार निर्णायक खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री स्वयम् टियू क्रिकेट मैदान पुगेका थिए