काठमाण्डौ । श्रम अधिकारको सुनिश्चितता र कार्यघण्टा व्यवस्थापनको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू शनिबार आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले श्रम ऐनको पूर्ण कार्यान्वयन, नियमित बिदा तथा कार्यस्थलमा हुने श्रम शोषण अन्त्य गर्न माग गरेका छन्।
माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी चिकित्सकहरूले हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा र दैनिक अधिकतम १२ घण्टासम्म मात्र ड्युटीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
उनीहरूको भनाइमा हाल प्रशिक्षणरत चिकित्सकहरू लामो समयसम्म निरन्तर काम गर्न बाध्य छन्, जसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।
प्रदर्शनमा सहभागी एमबिबिएस उत्तीर्ण चिकित्सक डा। प्रज्ञान बस्नेतले उच्च शिक्षाको क्रममा प्रशिक्षार्थी चिकित्सकमाथि श्रम शोषण भइरहेको आरोप लगाइन्।
उनले योग्य र मेधावी विद्यार्थीहरू पनि विद्यमान प्रणालीका कारण कठिन परिस्थितिमा अध्ययन गर्न बाध्य भएको बताइन्।
उनका अनुसार कतिपय अवस्थामा चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको छ।
सरकारले अधिकांश क्षेत्रमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरे पनि प्रशिक्षार्थी चिकित्सकहरूलाई न्यूनतम साप्ताहिक बिदासमेत नदिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
प्रदर्शनकारी चिकित्सकहरूले केही शिक्षण अस्पताल र चिकित्सा शिक्षा प्रणालीभित्रको संरचनात्मक समस्याका कारण युवा चिकित्सकहरू श्रम शोषणमा परेको दाबी गरेका छन्।
उनीहरूले चिकित्सकको पेशागत मर्यादा, स्वास्थ्य र अधिकारको संरक्षणका लागि तत्काल सुधार आवश्यक रहेको बताएका छन्।
चिकित्सकहरूको मुख्य माग दैनिक कार्यसमय १२ घण्टाभन्दा बढी नहुने व्यवस्था र हप्तामा कम्तीमा एक दिन बिदाको सुनिश्चितता रहेको छ।
उनीहरूले यस विषयमा सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने माग गरेका छन्।

































