काठमाडौ, नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा १० बजेबाट मतदान सुरु भएको मतदानमा ४०९ जनाले मतदान गरेका छन् । दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे।
संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।
मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा पुगिसकेका छन्।
मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र सार्वजनिक भइसकेको छ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।
जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्।
उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि उम्मेदवारी निष्कृय भएको घोषणा गरेकाले उनको नाम पनि आयोगले मतपत्रमा भने राखेको छ।
अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।