रेसुङ्गा, अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइले गाउँका उर्वर खेतबारी बाँझा छन् ।
उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरू पनि कम हुँदै गएका छन् । तर, शनिबार गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङ फाँट खेतला र ठिङ्गारेले भरिएको थियो ।

जुन अहिले दुलर्भ तस्बिर हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि आफ्नो खेतको रोपाइँलाई उत्सवको रूपमा विकास गरेका छन् ।
कलाकारहरूको बाली र स्थानीय झ्याउरे भाकासँगै र पञ्चेबाजा नाच्नेहरूका कारण मेलोेका खेतला र ठिङ्गारेलाई काम गरेको महसुसनै थिएन् ।

अर्यालले बर्सेनि गर्दै आएको रोपाइँ महोत्सवमा हेर्ने र रमाइलो गर्न स्थानीय सरकारका प्रमुखदेखि सरकारी अड्डाका मान्छेहरूको सिस्तुङ पुग्छन् ।
अर्यालले दुई वर्षदेखि व्यक्तिगत लगानीमा सय रोपनी खेतमा धान रोप्दै आएका छन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारसँगै पञ्चेबाजाको तालमा हेर्न आउनेहरूले सिस्तुङ फाँँट भरिभराउ थियो ।
काम र मनोरञ्जनसँगै गर्ने उद्देश्यले रोपाइँलाई महोत्सवको रूपमा अगाडि बढाउन एकैदिन काम गर्ने गरेको कृषक मेघनाथ अर्यालले बताए ।

उनले महोत्सवलाई आम्दानी र खर्चसँग मात्रै जोडेर आफुले कहिल्यै नहरेको बताउँदै बाँच्ने र सक्ने बेलासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए ।
पहिले गाउँहरूमा धेरैले बाजासहित रोपाइँ गर्ने चलन भएपनि पछिल्लो समय हराउँदै गएकाले संस्कृति संरक्षणको प्रयास पनि भएको बताए ।

कोरियाको कमाइले बुटवलमा लामो समय बस्दै आएका अर्याल २०७७ सालबाट सहर छोडेर गाउँ फर्किएका छन् ।
एक करोड लगानी गरेर व्यावसायीक भैँसीपालन गरेका अर्यालले दैनिक १०० लिटर दूध बिक्री गर्ने गरेका छन् ।
गतवर्ष पनि एकै दिन एक सय रोपनीमा धान रोपेका अर्यालले मङ्सिरमा ४०० मुरी धान भित्र्याए ।
आफ्नो ७२ रोपनी र लिजको २८ गरेर १०० रोपनी खेतमा धान रोप्दै आएको छ ।

एकैदिन रमाइलो गरेर धान रोप्दा भड्किलो भयो भन्नेहरू पनि मङ्सिरमा आगनको धानको थुप्रो देखेर छक्क परेको कृषक मेघनाथ अर्यालले बताए ।
उनले धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र अर्याल आफैँले लगानी गरेर अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै धुर्कोटे चामलको बजारीकरण शुरु गरेका छन् ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले मेघनाथ अर्यालले सवै काम ऊर्जा र उत्साहका साथ गरिरहेको बताए ।
उनले व्यवहारमा परिणाम पनि देखाएकाले आफुहरूको सहयोग र सद्भाव सधैं रहेको बताए ।


































