ब्रसेल्स, युरोप । युरोपियन युनियन (EU) को कूटनीतिक मुख्यालय युरोपेली बाह्य मामिला सेवा (EEAS) को विशाल हलमा यतिबेला रंगहरूको मात्र होइन, मानव चेतना र २७०० वर्ष पुरानो पूर्वीय दर्शनको एक अभूतपूर्व बौद्धिक विमर्श हुन गइ रहेको छ। निमित्त हो- नेपाली राजदूतावास, ब्रसेल्स द्वारा आयोजना गरिएको उच्चस्तरीय कला प्रदर्शनी “Art for SDGs: The Mithila Heritage” (दिगो विकास लक्ष्यका लागि कला: मिथिला सम्पदा)। तर, यो प्रदर्शनी क्यानभासमा कोरिएका चित्रहरूको संग्रह मात्र होइन; यो त आधुनिक विश्वका जल्दाबल्दा चुनौतीहरूलाई प्राचीन विदेह (मिथिला) राज्यको तार्किक चिन्तन र आत्मज्ञानको कूटनीतिक कसीबाट हल गर्ने एउटा सजीव वैश्विक प्रयास हो।
यदि देहं पृथक् कृत्य चिति विश्राम्य तिष्ठसि।
अधुनैव सुखी शान्तः बन्धमुक्तो भविष्यसि॥ (अष्टावक्र गीता १:४)नेपाली अनुवाद: यदि तिमीले आफूलाई यो भौतिक शरीरभन्दा अलग राखेर, केवल शुद्ध चेतना (चित्) मा विश्राम गर्न सक्यौ भने, तिमी अहिल्यै, यसै क्षण सुखी, शान्त र बन्धनमुक्त हुनेछौ।
आजको पश्चिमा जगत् र आधुनिक मानव समाज चरम भौतिकवाद, मानसिक अशान्ति, जलवायु संकट र सामाजिक ध्रुवीकरणबाट गुज्रिरहेको छ। ब्रसेल्सको यो ऐतिहासिक मञ्चले संसारलाई राजा जनक र किशोरावस्थाका ऋषि अष्टावक्रबीच भएको त्यो संवादको सम्झना गराउँछ, जसलाई हामी ‘अष्टावक्र गीता’ भन्छौं। भौतिक संसारको मोहभन्दा माथि उठेर आत्मिक स्वतन्त्रता र ‘साक्षी भाव’ सिकाउने यो अद्वैत वेदान्तको दर्शन नै आजको ‘माइन्डफुलनेस’ (Mindfulness) को आदिम रूप हो।
त्यस्तै, संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्य ५ (SDG 5 – लैंगिक समानता) लाई आजभन्दा झण्डै २७०० वर्षअघि मिथिलाकी महान नारी दार्शनिक गार्गी वाचकनवीले राजा जनकको राजसभामा ऋषि याज्ञवल्क्यलाई शास्त्रार्थमा चुनौती दिएर स्थापित गरिसकेकी थिइन्। गार्गीको त्यही बौद्धिक साहस र प्राज्ञिक सर्वोच्चताको निरन्तरता आज मिथिलाका महिलाहरूले आफ्नो भित्तेचित्र (अरिपन) बाट क्यानभासमा उतार्दै आर्थिक आत्मनिर्भरता र सामाजिक नेतृत्वमार्फत विश्वसामु प्रदर्शन गरिरहेका छन्।
युरोपियन युनियनले हाल आफ्नो मुख्य नीतिको रूपमा अघि सारेको ‘युरोपियन ग्रीन डिल’ (European Green Deal) र हरित संक्रमण (Green Transition) को दर्शन मिथिला कलाको डीएनए (DNA) मै भेटिन्छ। फूल, पात, माटो, बेसार र चामलको पिठोबाट तयार पारिने यी चित्रहरू पूर्णतः पर्यावरणमैत्री छन्। चित्रहरूमा कोरिएका सूर्य, चन्द्रमा, नदी, पोखरी र माछा (उर्वरताको प्रतीक) ले मानव र प्रकृतिबीचको गहिरो एकात्मता (Symbiotic Relationship) को वकालत गर्छन्, जुन SDG 13 (जलवायु कार्य) र SDG 15 (जमिनमा जीवन) को मूल मर्म हो।
बेनेलेक्स (बेल्जियम, नेदरल्याण्ड्स, र लक्जेमबर्ग) का लागि नेपाली राजदूत सेवा लम्सालका अनुसार, यो कार्यक्रमले नेपाल र युरोपबीचको ५१ वर्ष लामो सम्बन्धलाई परम्परागत दातृ-सहायता (Aid) को दायराबाट माथि उठाएर ‘सांस्कृतिक र रणनीतिक साझेदारी’ मा बदल्न महत्त्वपूर्ण कडीको रूपमा काम गर्नेछ।विशेषगरी, सन् २०२६ को अन्त्यमा नेपाल अल्पविकसित राष्ट्र (LDC) बाट स्तरोन्नति हुन गइरहेको वर्तमान परिप्रेक्ष्यमा, युरोपको मुटुमा नेपाली कला, दर्शन र आतिथ्य (ग्यास्ट्रो-डिप्लोमेसी अन्तर्गतको प्रामाणिक मिथिला भोजन र परम्परागत नृत्य) को यो त्रिवेणीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई केवल हिमालको देश मात्र नभई ‘मानव चेतना र शान्तिको महासागर’ को रूपमा स्थापित गर्ने निश्चित छ।
सुरक्षा संवेदनशीलताका कारण EEAS मुख्यालय प्रवेश गर्न पूर्व-दर्ता (Pre-registration) अनिवार्य गरिएको छ।दर्ताको अन्तिम दिन: हिजो ४ जुन २०२६ (डिजिटल लिंक वा क्यूआर कोड मार्फत) र औपचारिक उद्घाटन: ९ जुन २०२६, दिउँसो २:०० बजे ;जहाँ नेपाल र अमेरिकाका प्रतिष्ठित कलाकारहरूको प्रत्यक्ष चित्रकला प्रस्तुति रहनेछ। राजनीतिक सीमाभन्दा माथि उठेर सिंगो उपमहाद्वीपीय सांस्कृतिक पहिचान, तिरहुता लिपि (मिथिलाक्षर) र बहुभाषिक वैभवलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गर्ने यो प्रदर्शनी वास्तवमै कूटनीतिको एउटा नयाँ र सुनौलो आयाम हो।
मुक्ताभिमानी मुक्तो हि बद्धो बद्धाभिमान्यपि।
किंवदन्तीह सत्येयं या मतिः सा गतिर्भवेत्॥ (अष्टावक्र गीता १:११)नेपाली अनुवाद: जसले आफूलाई मुक्त मान्छ, त्यो मुक्त नै हुन्छ; जसले आफूलाई बन्धनमा परेको ठान्छ, त्यो बन्धनमै रहन्छ। यस संसारमा यो भनाइ एकदमै सत्य छ कि— ‘जस्तो मति (सोच), त्यस्तै गति (अवस्था) हुन्छ।’
































