काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले राष्ट्रपतिमा अघि सार्ने उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका छन्।
लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका हुन्।
‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं। कोसिस गर्छौं, लाग्छौँ–लाग्छौँ,’ महामन्त्री थापाले भने, ‘स्वाभाविक होनित। कुनै अस्वाभिाक हो र ? आँखा लाउलास् भन्नुहुन्छ। लाउँछौँ, आँखै लाउँछौँ।
भोटै माग्छौँ। फकाउँछौँ। मिलाउने कोसिस गर्छौँ। हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौँ।’
उनले नाम उच्चारण नगरेरै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण कांग्रेसको मनमा डर बसेको र आफूहरुले एमालेको उम्मेदवारलाई हराएर डरबाट मुक्त हुन चाहेको पनि जिकिर गरे।
‘किनकी राष्ट्रपति को हुनेभन्दा पनि संविधानको अनुकुलतामा लैजाने कि नलैजाने भन्ने कुरा हाम्रो मनमा डर बसेको छ,’ थापाले भने, ‘डर हिजोको राष्ट्रपतिको भूमिकाका कारण बसेको छ। त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौँ।’
उनले एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार विजयी भए संविधान दुर्घटनामा जाने पनि उल्लेख गरे।
‘राष्ट्रपति नेकपा एमालेले बनायो भने विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। संविधानले दिँदै नदिएको शक्तिको अध्यास गर्छ।
त्यसले दुईवटा केन्द्र हुन्छ। एउटा बालुवाटार हुन्छ, एउटा शीतल निवास हुन्छ,’ थापाले भने, ‘बालुवाटारबाट कार्यकारी अधिकारको प्रयोग गर्ने ठाउँमा शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र त्यो एक ठाउँ गएर ठोक्किन्छ।
त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ।’