काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।
गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको हो । प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।
बुधवार सुदूरपश्चिम सरकारले विश्वासको मत लिने र लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।
आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।
संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् ।
तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री दाहाल सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।
यसअघि मंगलबार पनि दाहाल ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।