काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् ।
शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले भने , अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मुलभूत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ ।
देश अहिले आर्थिक रुपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ ।’’ उनले देश अहिले आर्थिक रुपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए ।
उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको जानकारी दिए ।
उनले तीन महिनामा रेमिट्यान्स, राजश्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे । उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए ।
‘‘मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु ।
सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ ।
सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ ।,’’ प्रधानमन्त्री दाहालले भने , ‘‘अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व सङ्कलनमा धेरै सुधार भएको छ करिव गुणात्मक, विदेशी मुद्रा सञ्चितिमा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ ।’’ प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए ।