काठमाण्डू, नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी स्मरण गरिँदै छ ।
आइतबार कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, सातै प्रदेश र ७७ जिल्लास्थित कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (वीपी सङ्ग्रहालय) मा पनि विशेष कार्यक्रमको आयोजना गरिँदै छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस संस्थापक कोइरालाको स्मृति दिवसमा केन्द्रीय कार्यालयमा आइतबार माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
वीपी विसं १९७१ भदौ २४ गते जन्मिएका थिए । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुए तिहाइ मत प्राप्त गरेपछि उनी देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
२०१७ पुस १ गते तात्कालीन राजा महेन्द्र शाहले उनलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि आठ वर्ष जेल बस्नु परेको थियो । रिहा भएपछि उहाँ निर्वासनमा भारत गएका थिए ।
२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किए । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गरेका कोइराला क्यान्सर रोगबाट पीडित थिए ।
उनको निधन २०३९ साउन ६ गते भएको हो ।


































