२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

प्रतिनिधि परिचयपत्र विवाद टुंगिएपछि आजबाट रास्वपाको बन्दसत्र, नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने

Untitled
Untitled
Untitled

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत स्थगित भएको बन्दसत्र आजबाट शुरु हुने भएको छ।

प्रतिनिधि परिचयपत्र वितरण र नामावली प्रमाणीकरणको प्रक्रिया पूरा भएपछि पार्टीले बन्दसत्र सञ्चालनको तयारी पूरा गरेको जनाएको छ।

सोमबार बिहान ८ः३० बजेबाट शुरु गर्ने तय गरिएको बन्दसत्र प्रतिनिधि सूची रुजु, परिचयपत्र छपाइ तथा प्रमाणीकरणको काम नसकिएकाले एक दिन पछि सारिएको थियो।

आज बिहान ७ बजेदेखि प्रतिनिधिहरूलाई परिचयपत्र वितरण शुरु गरिएको र त्यसपछि बन्दसत्र सञ्चालन गरिने पार्टीले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय भएकाले प्रतिनिधि छनोट र प्रमाणीकरण प्रक्रियामा कुनै विवाद नहोस् भन्ने उद्देश्यले आवश्यक सावधानी अपनाइएको बताए।

उनका अनुसार प्रदेशबाट प्राप्त प्रतिनिधि सूचीको अन्तिम रुजु, दाबी–विरोधको व्यवस्थापन तथा परिचयपत्र तयारीका कारण कार्यक्रम केही ढिला भएको हो।

बन्दसत्र चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। महाधिवेशनको उद्घाटन सत्र भने आइतबार भरतपुरको गेष्टहाउस चौरमा सम्पन्न भइसकेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवात अनुशासन आयोगको प्रतिवेदन प्रस्तुतिबाट हुनेछ।

आयोगका अध्यक्ष रमाकान्त रिमालले प्रतिवेदन पेश गरेपछि त्यसमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन्।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्।

प्रतिवेदनमा पार्टीको आय–व्यय विवरण, आर्थिक गतिविधि, महाधिवेशन खर्च तथा वित्तीय व्यवस्थापनका विषय समेटिने जनाइएको छ।

आर्थिक प्रतिवेदनपछि संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ।

महामन्त्री बुर्लाकोटीले पार्टीको सदस्यता विस्तार, संगठन निर्माण, स्थानीय तहदेखि केन्द्रसम्मको संरचना र भावी संगठनात्मक योजनाबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

बन्दसत्रको अर्को महत्वपूर्ण एजेन्डा विधान संशोधन हुनेछ।

केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधानमाथि प्रतिनिधिहरूबीच व्यापक छलफल गरी अनुमोदन गराउने तयारी गरिएको छ।

नयाँ विधानमार्फत पार्टी संरचना विस्तार, महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था तथा नेतृत्व चयनका नयाँ प्रावधान समेटिएका छन्।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमा पार्टीको भावी राजनीतिक रणनीति, वैचारिक दिशा, आगामी निर्वाचन तयारी, सुशासन तथा संगठन सुदृढीकरणका विषय समेटिने अपेक्षा गरिएको छ।

राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदनपछि महाधिवेशनको नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने सम्भावना रहेको छ भने त्यसपछि आयोजक समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पार्टीको निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।

निर्वाचन आयोगले त्यसपछि उम्मेदवारी दर्ता, मतदान, मतगणना तथा नेतृत्व चयनको विस्तृत कार्यतालिका सार्वजनिक गर्नेछ।

यही प्रक्रियाबाट रास्वपाले आफ्नो नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीलाई आन्दोलनमुखी संरचनाबाट संस्थागत राजनीतिक संगठनमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेतृत्व चयनसँगै संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय हुने भएकाले महाधिवेशनप्रति पार्टीभित्र र बाहिर दुवैतर्फ चासो बढेको छ।

Untitled
Untitled
Untitled