२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

रास्वपा महाधिवेशनमा प्रतिनिधि नामावली सार्वजनिक हुँद, सभापतिदेखि केन्द्रीय सदस्यसम्म खुला प्रतिस्पर्धाबाट चयन गर्ने

Untitled
Untitled
Untitled

चितवन, प्रतिनिधि नामावली अन्तिम रूपमा टुंगो नलाग्दा सोमबारदेखि स्थगित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज बिहान १० देखि पुनः सञ्चालन हुने भएको छ।

बन्दसत्र रोकिएपछि देखिएको अन्योल अन्त्य गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाउने तयारी गरिएको हो।

न्यायिक समितिका नेता यज्ञमणि न्यौपानेका अनुसार आज बिहान १० बजेपछि मतदाता नामावली सार्वजनिक गरिनेछ।

नामावली प्रकाशनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुने उनले बताए।

मतदाता नामावली सार्वजनिक भएपछि त्यसमा दाबी–विरोध (क्लेम एन्ड अब्जेक्सन) पेश गर्ने समय उपलब्ध गराइनेछ।

सो प्रक्रिया पूरा भएपछि उम्मेदवारी दर्ताको चरण सुरु गर्ने तयारी महाधिवेशन आयोजक समितिले गरेको छ।

न्यौपानेका अनुसार पार्टीका सबै पद—सभापतिदेखि केन्द्रीय सदस्यसम्म—का लागि खुला उम्मेदवारी दर्ता गर्ने सहमति भएको छ।

प्रारम्भमा केही पदमा सहमति गरेर निर्वाचन सीमित गर्ने विकल्पबारे छलफल भएपनि अन्ततः सबै पदमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने निष्कर्षमा पार्टी पुगेको हो।

पार्टीभित्र सुरुमा सभापति र वरिष्ठ नेताको विषयमा सहमति जुटाएर अन्य पदमा मात्र निर्वाचन गराउने प्रस्ताव पनि आएको थियो।

तर, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सबै पदमा खुला प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया पूर्ण रूपमा निर्वाचनतर्फ मोडिएको बताइएको छ।

नेतृत्व तहले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको गुटगत गतिविधि वा समूह निर्माण हुन नदिने स्पष्ट नीति लिएको छ।

सभापति लामिछाने र वरिष्ठ नेता शाहले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र संस्थागत अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको न्यौपानेले जानकारी दिए।

अब मतदाता नामावली सार्वजनिक भएपछि निर्वाचन तालिका क्रमशः अघि बढ्नेछ। उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन हुँदै मतदान प्रक्रिया सम्पन्न गरिने कार्ययोजना तयार गरिएको छ।

महाधिवेशन केही समय अवरुद्ध हुँदा चितवनमा अन्योल देखिए पनि आजदेखि सबै प्रक्रिया पुनः सक्रिय हुने भएपछि महाधिवेशनले पुनः गति लिने अपेक्षा गरिएको छ।

Untitled
Untitled
Untitled