फिदिम । पाँचथर जिल्लाकाे फिदिम नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जन्मदेखि ५९ महिनाका सबै बालबालिकालाई मापदण्ड अनुसारका खोप लगाएर फिदिम नगरलाई पूर्ण खोप सुनिश्चित नगरका रूपमा घोषणा गरिएको छ ।
नगरपालिकालाई मंंगलबार फिदिममा आयोजित एक समारोहमा पूर्ण खोप सुनिश्चत घोषणा गरिएको हाे ।
कार्यक्रममा नगर प्रमुख मित्रप्रसाद काफ्लेले प्रश्तुत गर्नुभएको तथ्यांक अनुसार नगरपालिकामा जन्मदेखि ५९ महिनाका बालबालिकाको संख्या ३ हजार १ सय ६० छ । जसमध्ये जन्मेदेखि १५ महिना उमेर समूहका ९ सय ९३ छ ।
उनीहरुलाई उमेर समूह अनुसार मापदण्ड अनुसारका खोप लगाउनुका साथै १६ देखि ५९ महिनाका बाल बालिकालाई अभियानका क्रममा खोप लगाएर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका उप-प्रमूख यामकुमार आङवोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चतताको प्रमाण-पत्र प्रदान गर्नुभयो ।
यसअघि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरि सकिएको थियाे ।



































