विराटनगर, चार दिनअघि ( २ चैतमा ) मोरङमै २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो, त्यो पनि आफ्नै प्रेमीबाट ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी दासको हत्यापछि प्रेमीले आत्महत्या गरेका थिए । फेरि मोरङकै बेलबारीमा उस्तै घटना दोहोरिएको छ ।
एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । छोराले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीय पत्नी गीताको हत्या गरे ।
पत्नी मारेपछि उनले ८ वर्षिय छोरालाई मासु काट्ने दाउ ताक्दै लखेटे । छोरा भागे । उनले पछ्याउँदै गए । तर, भेट्न सकेनन् ।
धन्न छोराले भागेर ज्यान बचाए । छोराको हत्या गर्न नसकेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटे । स्टाफ नर्स चन्द्रिकाको शौचालयमा हत्या, शरीरभर धारिलो हतियारको चोट
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहाल भन्छन्, ‘‘पारिवारिक कारणले झगडा भएको रहेछ । त्यो झगडाले यति ठुलो घटना भयो ।’’
उनीहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।
गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
महिना दिनअघि काठमाडौंमा सितापाइलामा एक पुरुषले श्रीमती छोरी र नातिनीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । पछिल्लो समय परिवारै सखाप बनाइएका घटना बढ्दै गएका छन् ।



































