२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि पाएनन भर्ना

Untitled
Untitled
Untitled

–निवेदन दिनेको घुुँइचो
–आजबाट भर्ना हुन पाउँछन् स् विभाग प्रमुख कोइराला

काठमाडौं, कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् ।

भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि गरेका कारण भर्ना हुन योग्य विद्यार्थी भर्ना हुन नपाएका हुन् ।

कामपाले सोमबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । परीक्षाफल प्रकाशित भएलगत्तै कामपाले सूचना जारी गरी ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रह गरेको थियो ।

सूचनामा सफ्टवेयरमा समस्या आएको सम्बन्धमा खुलाइएको थिएन । विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो ।

भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए ।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकारे । कामपाले आइतबार परीक्षाफल प्रकाशित गरेको थियो । ‘

संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयमा परेपछि समस्या आएको जिकिर गर्दै कोइरालाले भने – ‘कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो ।’

विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको र केहीले नतिजा चित्त नबुझेर निवेदन दिनेको भीड लागेको बताए ।

उनका अनुसार पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारीमा थियो ।

विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ ।

सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको छ ।

हतारमा गरेको नतिजा प्रकाशनको कारण सयौं विद्यार्थीलाई समस्या परेको अभिभावकको गुनासो थियो ।

भर्ना हुन नपाएपछि कामपा शिक्षा विभागमा पुगेका देशभरका विद्यार्थीले तत्काल सूची सार्वजनिक गर्न आग्रह गरेका थिए ।

त्रुटिको कारण बढी स्कोर ल्याएका विद्यार्थी छात्रवृत्तिमा भर्ना हुन पाएका छैनन् भने कम स्कोर ल्याएका विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना देखिएको छ ।

कामपाका एक विभागीय निर्देशकले भने– ‘परीक्षामा त्रुटि भएका कारण बढी स्कोर ल्याएको मेरो नातेदारको छोराको नाम निस्केको छैन ।’

कामपा शिक्षा विभाग प्रमुख कोइरालाले यो समस्या आज समाधान भएर भर्ना हुने दाबी गरे ।

छात्रवृत्ति परीक्षाको कारण विभागका कर्मचारी एक सातादेखि रातभर काम गर्नुपरेको गुनासो गर्दै एक कर्मचारीले भने –‘रातभर काम ग¥यो, तैपनि जस पाउन सकिएन ।’

ती कर्मचारीका अनुसार मंगलबार पनि रातभर बसेर समस्या समाधान गर्नेगरी काम गरिएको थियो ।

विभागले विज्ञान विषयमा १ हजार ४ सय ५२, व्यवस्थापनमा ७ सय ४५, कानूनमा ४३, मानविकीमा ४ र शिक्षामा ५ जनाको गरी पहिलो म्याचिङ सूचीमा २ हजार ३ सय २२ जना परीक्षार्थीको नाम सार्वजनिक गरेको छ ।

प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिमा ४९, कम्प्युटरमा १८, इलेक्ट्रिकलमा ११ नाम सार्वजनिक गरेको छ । प्राविधिक धारका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुनेछन् ।

साउन २७ गतेसम्म विद्यालय र विषय छनोटका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको थियो । सोही आधारमा विभागले म्याचिङ गरी विद्यालय र विद्यार्थीको नाम सार्वजनिक गरेको थियो ।

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीलाई ९, ल्यान्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ ।

बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३, आदिबासी र जनजातिलाई १५, मधेसीलाई १२, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट पाउनेछन् ।

त्यस्तै, दलितलाई ९, मुस्लिमलाई २, थारूलाई ४, अपाङ्गता भएका व्यक्तिलाई २, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४, शहीद, बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरेको थियो ।

छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १ सय ६२ जना विद्यार्थी सहभागी भएका थिए ।

तीमध्ये ३ हजार ३१ छात्र र १ हजार ५ सय १९ छात्रा गरी ४ हजार ५ सय ५० जनाको नाम प्रारम्भिक नतिजाको सूची प्रकाशित गरेको थियो ।

साउन २१ र २२ गते पुनर्योगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिएका थिए ।

नेपाल समाचारपत्रबाट

Untitled
Untitled
Untitled