काठमाण्डौ । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ।
पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले अब धेरै समय अनिर्णयमा बस्न नसकिने भन्दै पार्टी एकता वा नयाँ राजनीतिक संगठन निर्माणमध्ये एउटा विकल्प रोज्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा गर्दै भविष्यको रणनीतिबारे छलफल गरिएको हो।
बैठकमा अधिकांश नेताहरूले कांग्रेसलाई पुनः एकताबद्ध बनाउने प्रयासलाई अन्तिम अवसर दिनुपर्ने तर त्यसका लागि सहमति नजुटे वैकल्पिक संगठन निर्माण गर्नसमेत तयार रहनुपर्ने धारणा व्यक्त गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट वैधानिक मान्यता प्राप्त भइसकेपछि कांग्रेसभित्रको शक्ति सन्तुलन थप जटिल बनेको छ।
यद्यपि, देउवा पक्षले उक्त नेतृत्वलाई पूर्ण रूपमा स्वीकार नगर्दै समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।
यही रणनीतिअनुसार देउवा पक्षले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेर संगठनात्मक गतिविधि सञ्चालन गरिरहेको छ।
यसलाई कांग्रेसभित्र समानान्तर शक्ति केन्द्रको रूपमा हेरिएको छ।
पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सोमबारदेखि सुरु भएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा पार्टी एकता, संगठनको भविष्य र राष्ट्रिय राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भइरहेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले अहिलेको प्राथमिकता पार्टीलाई एकताबद्ध बनाउने नै रहेको बताए।
तर, त्यसका लागि आवश्यक राजनीतिक सहमति नबने पार्टीलाई कसरी अघि बढाउने भन्ने विकल्पबारे पनि गम्भीर छलफल शुरु भएको उनको भनाइ थियो।
उनले अधिकांश नेताहरूले पार्टी एकताको पक्षमा मत व्यक्त गरेपनि एकता सम्भव नभए नयाँ राजनीतिक संरचना निर्माण गर्न डराउन नहुने धारणा राखेको जानकारी दिए।
विश्वकर्माका अनुसार बैठकमा सहभागी नेताहरूले सबै पक्षलाई एउटै टेबलमा ल्याएर साझा निर्णय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
तर, यदि त्यसबाट पनि निकास ननिस्किए वैकल्पिक संगठन निर्माणलाई पनि खुला रूपमा छलफल गर्नुपर्ने धारणा बलियो रूपमा उठेको उनले बताए।
मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरू वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, किरण पौडेल, गुरु बराल, गोविन्द शाह, महिन्द्रा लिम्बू र सीता देवकोटाले पार्टीको वर्तमान संकट, संगठनको दिशा तथा भावी रणनीतिबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
देउवा पक्षले विशेष महाधिवेशनपछि उत्पन्न नयाँ परिस्थितिमा पार्टी सञ्चालनको स्पष्ट खाका पनि अघि सारेको छ।
उनीहरूको प्रस्तावअनुसार आगामी १५औँ नियमित महाधिवेशनसम्म पुरानो र नयाँ दुवै कार्यसमितिलाई समायोजन गरी संयुक्त नेतृत्वको अभ्यास गर्नुपर्ने धारणा राखिएको छ।
त्यसैगरी निर्वाचन समिति, सदस्यता छानबिन समिति, अनुशासन आयोग, भातृ तथा शुभेच्छुक संगठनलगायत पार्टीका सबै प्रमुख संरचनामा दुवै पक्षको समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग देउवा पक्षले दोहोर्याएको छ।
क्रियाशील सदस्यताको विषय पनि दुई पक्षबीच प्रमुख विवादको रूपमा रहेको छ।
देउवा पक्षले यसअघि नै सदस्यता नवीकरण प्रक्रिया सम्पन्न भइसकेकाले पुनः अद्यावधिक आवश्यक नरहेको अडान लिएको छ।
तर, सभापति थापा नेतृत्वले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ, जसलाई देउवा पक्षले मान्यता दिएको छैन।
विश्लेषकहरूका अनुसार पार्टीभित्रको यो विवाद अब सामान्य गुटगत असन्तुष्टिभन्दा धेरै माथि पुगिसकेको छ।
यदि दुवै पक्षबीच सहमति जुट्न सकेन भने कांग्रेस औपचारिक विभाजनतर्फ जान सक्ने सम्भावनासमेत बढ्दै गएको देखिन्छ।
देउवा पक्षको बैठक बुधबार पनि जारी रहनेछ। आगामी बैठकले पार्टी एकताका लागि थप पहल गर्ने कि वैकल्पिक राजनीतिक बाटो रोज्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
कांग्रेसभित्रको यो शक्ति संघर्षले नेपालको समग्र राजनीतिक समीकरणमा समेत दूरगामी प्रभाव पार्ने आँकलन गरिएको छ।



































