एजेन्सी, मध्यपूर्वमा फेरि चुलिएको अमेरिका–इरान तनावले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ।
इरानमाथि अमेरिकाले गरेको हवाई आक्रमण र त्यसपछि इरानी तेल निर्यातमाथि थप प्रतिबन्ध लगाउने घोषणासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको छ।
तेलको मूल्य बढ्न थालेसँगै विश्वव्यापी महँगी, ब्याजदर र आर्थिक वृद्धिमाथि समेत दबाब बढ्ने संकेत देखिएका छन्।
हवाई आक्रमणको खबर सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट ९ध्त्क्ष्० कच्चा तेलको मूल्य २.७ प्रतिशतले उकालो लागेर प्रति ब्यारेल ७२.४० अमेरिकी डलर पुगेको छ।
बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताले भविष्यमा तेल आपूर्ति प्रभावित हुने अनुमान गर्दै ठूलो परिमाणमा खरिद बढाएपछि मूल्यमा तत्काल प्रभाव परेको हो।
यसैबीच अमेरिकाले आगामी जुलाई १७ देखि इरानको तेल निर्यातमाथि पुनः कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ।
इरान विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक भएकाले उसको निर्यातमा कमी आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको उपलब्धता घट्ने र मूल्य थप चर्किन सक्ने आकलन गरिएको छ।
ऊर्जा बजारका जानकारहरूका अनुसार अहिलेको मूल्यवृद्धि वास्तविक आपूर्ति घटिसकेको कारणभन्दा पनि सम्भावित अभावको मनोवैज्ञानिक प्रभावले प्रेरित भएको हो।
यदि मध्यपूर्वमा सैन्य तनाव थप विस्तार भयो वा तेल ढुवानीका प्रमुख समुद्री मार्ग प्रभावित भए भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अझ तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।
तेल बजारको अस्थिरताले वित्तीय बजारमा पनि प्रभाव पार्न थालेको छ।
अमेरिकी १० वर्षे ट्रेजरी बन्ड फ्युचर्समा गिरावट आएको छ भने लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुन थालेका छन्।
ऊर्जा मूल्य बढ्दा उत्पादन लागत र उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने भएकाले मुद्रास्फीति पुनः चर्किने जोखिम देखिएको विश्लेषण गरिएको छ।
मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने सम्भावनाले पनि वित्तीय बजारमा अनिश्चितता थपिएको छ।
ब्याजदर बढेमा उद्योग–व्यवसायको लगानी लागत बढ्ने, ऋण महँगो हुने तथा आर्थिक गतिविधिमा सुस्तता आउने जोखिम रहने अर्थशास्त्रीहरूको भनाइ छ।
तेलको मूल्यवृद्धिको प्रत्यक्ष असर यातायात, हवाई सेवा, उत्पादन, कृषि, उद्योग र ढुवानी क्षेत्रमा पर्नेछ।
यी क्षेत्रको लागत बढेपछि खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यमा वृद्धि हुन सक्ने भएकाले विश्वव्यापी महँगी फेरि चुलिने संकेत देखिएका छन्।
पेट्रोलियम पदार्थको आयातमा पूर्ण रूपमा निर्भर नेपालजस्ता मुलुक पनि यसबाट अछुतो रहने अवस्था छैन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएसँगै नेपालले आयात गर्ने पेट्रोल, डिजेल, एलपी ग्यास र हवाई इन्धनको लागत बढ्न सक्छ।
त्यसको असर स्वदेशी बजारमा इन्धन मूल्य समायोजन, ढुवानी खर्च र उपभोग्य वस्तुको मूल्यमा समेत देखिन सक्ने अनुमान गरिएको छ।
विश्व समुदायको ध्यान अहिले अमेरिका–इरान सम्बन्ध, नयाँ प्रतिबन्धको कार्यान्वयन र इरानको सम्भावित प्रतिक्रियातर्फ केन्द्रित छ।
आगामी दिनमा यी घटनाक्रमले ऊर्जा बजार मात्र होइन, विश्व वित्तीय प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र समग्र आर्थिक स्थायित्वमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।

































