२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन अब चलचित्रमा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली हास्यव्यङ्ग्य र अभिनय क्षेत्रमा विशिष्ट पहिचान बनाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ।

आइतबार काठमाडौंमा आयोजित विशेष समारोहबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो।

चलचित्रको शुभारम्भ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उहाँका चार दशकभन्दा लामो समयका सहयात्री तथा कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरे ।

समारोहमा मदनकृष्णको जीवनयात्रा, संघर्ष र नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदानलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिने जानकारी दिइयो।

निर्माण पक्षका अनुसार चलचित्रले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारका रूपमा स्थापित हुँदासम्मको यात्रा, व्यक्तिगत जीवनका उतारचढाव, सरकारी सेवामा बिताएको समय, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह तथा पारिवारिक संघर्षलाई समेट्नेछ।

उनको सफलताको पछाडि रहेका अनेक आरोह–अवरोहलाई यथार्थपरक शैलीमा पर्दामा उतारिने जनाइएको छ। चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन्।

बायोपिक विधामा सफल निर्देशकका रूपमा परिचित चाम्सले यसअघि ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ निर्देशन गरिसकेका छन्।

विशेषगरी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित ‘अञ्जिला’ व्यावसायिक र समीक्षात्मक दुवै हिसाबले सफल भएपछि चाम्सको बायोपिक निर्माण क्षमतामाथि थप विश्वास बढेको छ।

नेपाली चलचित्र इतिहासमा कुनै अभिनेताको जीवनमा आधारित बायोपिक बन्न लागेको यो पहिलो अवसर मानिएको छ।

यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ निर्माण भएपनि चलचित्र अभिनेताको जीवनीमा आधारित फिल्म भने बनेको थिएन।

बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने मदनकृष्णकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन्।

साथै चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

यद्यपि मदनकृष्णका जीवनभरका सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने निर्माण टिमले हाल गोप्य राखेको छ।

यसले चलचित्रप्रति दर्शकमा थप उत्सुकता बढाएको छ।

कार्यक्रममा धिमे बाजागाजासहित मदनकृष्ण श्रेष्ठलाई स्वागत गरिएको थियो। सम्मानस्वरूप माला र खादा अर्पण गरिँदा उहाँ भावुक बनेका थिए ।

आफ्ना सहकर्मी हरिवंश आचार्यसँगै बसेका मदनकृष्णले खुसीका आँसु थाम्न सकेनन् ।

हरिवंशले उहाँलाई चलचित्र सफलताको शुभकामना दिँदै यो नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण परियोजना हुने विश्वास व्यक्त गरे ।

समारोहमा बोल्दै ७६ वर्षीय मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनलाई चलचित्रका माध्यमबाट दर्शकमाझ प्रस्तुत गर्न लागिएकोमा खुसी व्यक्त गरे ।

उनले आफ्नो सफलताको श्रेय हरिवंश आचार्यसँगको सहकार्यलाई दिँदै दर्शकले अब आफ्नो जीवनका धेरै नदेखिएका पाटाहरू पनि चलचित्रमार्फत बुझ्न पाउने बताए ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि मदनकृष्णको जीवनमा आधारित चलचित्र बन्नु आफ्ना लागि गर्वको विषय भएको उल्लेख गरे ।

उनले निर्देशक मिलन चाम्सलाई साहसी र सिर्जनशील निर्देशकको संज्ञा दिँदै चलचित्रले मदनकृष्णको जीवनलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि मदनकृष्ण–हरिवंश नेपाली कला क्षेत्रका प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गर्दै बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण काम भएको बताए ।

कलाकारको चरित्र, हाउभाउ र व्यक्तित्वलाई पर्दामा जीवन्त उतार्न कलाकारसँगै मेकअप टोलीको पनि ठूलो भूमिका रहने उनको भनाइ थियो।

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले स्वस्तिवाचन गरेकी थिइन्। त्यसअघि निर्माण टिमले पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना गरेर चलचित्र निर्माणको शुभारम्भ गरेको थियो।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्।

पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, एलिस कार्की पाश्र्व संगीतकार तथा भरत कँडेल साउन्ड डिजाइनरका रूपमा आबद्ध छन्।

भदौको दोस्रो सातादेखि छायांकन शुरु गर्ने तयारी गरिएको चलचित्र ‘मदनकृष्ण’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी.कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ।

मदनकृष्ण श्रेष्ठको जीवन र योगदानलाई पर्दामा उतार्ने भएकाले यो चलचित्र नेपाली चलचित्रप्रेमी माझ बहुप्रतीक्षित परियोजनाका रूपमा हेरिएको छ।

Untitled
Untitled
Untitled