२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार बिहान टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको हो ।

दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलिन् ।

उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् ।

यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् ।

चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।

नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिसम्म पूर्‍याएका थिए ।

ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए ।

नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टोलीले खेलिरहेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा भने नेपाली टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले भने आफ्नो तेस्रो खेल खेलिरहेको हो । नेदरल्यान्ड्सको टोली अघिल्ला दुवै खेलमा विजयी भएको थियो ।

आफ्नो पहिलो खेलमा जिम्बाब्वेलाई २२ रनले पराजित गरेको नेदरल्यान्ड्सको टोलीले दोस्रो खेलमा स्कटल्यान्डमाथि सात रनको रोमाञ्चक जीत हासिल गरेको थियो ।

समूह ‘बी’ तालिकामा चार अंकसहित थाइल्यान्ड पहिलो र समान अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो स्थानमा आसिन छन् ।

तालिकाको तेस्रो स्थानमा आसिन स्कटल्यान्डले एक खेल खेले पनि अंक बटुल्न सकेको छैन ।

दुवै खेलमा पराजित भएको जिम्बाब्वे चौथो र एक खेल खेलेको नेपाल पाँचौं स्थानमा छन् ।

Untitled
Untitled
Untitled