२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को स्थापना, विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श प्रदान गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श प्रदान गर्दै आएका व्यवसायीले नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) गठन गरेका छन् ।

शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन, साथै यस क्षेत्रका व्यवसायीका समस्यालाई सम्बोधन गर्न एउटा साझा मञ्चको आवश्यकता महसुस गरी नेक्साको स्थापना गरिएको जनाइएको छ ।

संघका अध्यक्ष सन्तोष खनालले नेक्साले परामर्श व्यवसायीका समस्या समाधान गर्न र विद्यार्थी हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनले अबको एक महिनाभित्र नै नेपालकै पहिलो ‘कोरियन एजूकेसन फेयर’ आयोजना गर्ने तयारी भएको पनि जानकारी गराए।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थापाले विदेशमा शिक्षा हासिल गर्नुलाई नकारात्मक नमाने पनि विद्यार्थीहरूले सीप र ज्ञान आर्जन गरी स्वदेश फर्किएर देशको सेवा गर्नुपर्नेमा जोड दिए।

उनले छात्रवृत्तिमा जाने विद्यार्थीलाई मात्र अनुमति दिइनुपर्ने र युरोप तथा अमेरिका जाने नो अब्जेक्सन लेटर बन्द गर्नुपर्ने आफ्नो धारणा व्यक्त गरे।

उनले शिक्षा क्षेत्रमा भइरहेको स्वार्थी राजनीतिको घुसपैठ रोक्न अब राजनीति गर्नेहरूलाई बहिष्कार गर्नुपर्नेमा पनि जोड दिए।

नेक्साले पारदर्शी, इमान्दार र गुणस्तरीय परामर्श सेवा प्रवर्द्धन गर्दै विद्यार्थीमैत्री वातावरण सिर्जना गर्ने, सदस्यहरूको क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय अवसरका ढोकाहरू अझ फराकिलो बनाउने लक्ष्य लिएको छ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

Untitled
Untitled
Untitled