२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

शिक्षा विधेयक अनिश्चयको घेरामा, साता दिन कुर्ने, नभए सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल शिक्षक महासंघले सरकारले प्रतिबद्धता जनाएर पनि १५ गतेसम्म विद्यालय शिक्षा ऐन ल्याउन नसकेर धोका दिएको आरोप लगाएको छ ।

महासंघले आजबाट एक सातासम्म विधेयक टेबल नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि समितिले सोमबार बैठक एकाएक स्थगित गर्ने निर्णय गरेपछि विधेयक अनिश्चयको घेरामा परेको हो ।

सो विधेयक सोमबार नै पारित गर्ने तयारी गरिएको थियो तर सरकारले तयारी नपुगेको भन्दै समय माग गरेपछि बैठक एकाएक स्थगित गरिएको हो ।

जसका कारण सो विधेयक समितिबाट पारित हुन नसकेको हो ।

महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले विशेष गरी शिक्षामन्त्री रघुजी पन्तले लिंगरिङले गर्दा समस्या भएको बताए ।

सरकारले चाहेरै पनि ऐन ल्याउन प्रयास नगरेकोे उनको आरोप थियो । उनले भने– ‘यतिका धेरै समय हुँदा पनि शिक्षामन्त्री रघुजी पन्तले खासै चासो नदिएका कारण समस्या परेको हो ।’

‘समय नभएको पनि होइन, सांसद छविलाल विश्वर्काको संयोजकत्वमा गठित उपसमितिले जेठ ४ गते प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रतिवेदन बुझायो ।

त्यसपछि ११ गते समितिको बैठक बस्यो । लगातारको छलफलपछि १८ गते १७ बुँदा प्रस्ताव भयो । १८ गतेबाट मन्त्री पन्तले केही दिन छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै समितिसँग समय माग्नुभयो ।

बल्ल ३१ गते बैठक बस्यो यति धेरै पहल हुँदासम्म विधेयक प्रतिनिधिसभामा दर्ता हुन सकेन’ –सहअध्यक्ष पराजुलीले भने ।

‘आज वा भोलिसम्म विधेयकलाई संसद् सचिवालयमा दर्ता गरिसक्नुपर्छ, एक साताभित्र प्रतिनिधिसभामा नपुगे कडा आन्दोलन गर्नेछौं’ –सहअध्यक्ष पराजुलीको चेतावनी छ ।

बल सरकारको कोटमा छ, सरकार आफैंले गरेको सहमति पालना गर्न सक्दैन भने के गरी मुलुकको शिक्षा हाँक्न सकिन्छ ।

स्रोतका अनुसार हिजो सोमबार बिहान नेपाली कांग्रेसका सचेतक श्याम घिमिरेले राहत, अस्थायीलगायत शिक्षक स्थायी गर्न ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला हुनुपर्ने अडान लिएका थिए ।

सबै विषयमा सहमति भएपनि सचेतकले पार्टीको अडान फिर्ता नलिएका कारण छलफल रोकिएको हो ।

एमाले, माओवादी केन्द्रलगायत शिक्षक संघ संगठनले आन्तरिक ६० र खुला ४० प्रतिशतमा सहमति जुटाइसकेका छन् ।

सरकार आबद्ध दलका कारण समस्या चर्किएपछि वार्ता अनिश्चित प्रायः भएको छ । त्यसैका कारण हिजो बस्ने भनिएको समितिको बैठक स्थगित भएको छ ।

शिक्षक र सरकार पक्षबीच कुरा नमिलेपछि बिहान महासंघसँग वार्ता भएको थियो । वार्तामा महासंघले आन्तरिक प्रतिस्पर्धाबाट ७५ र खुलामा २५ प्रतिशत हुनुपर्ने अडान दोहोरिएपछि वार्ता स्थगित भएको छ ।

यस्तै, प्रारम्भिक बाल विकास सहजकर्तालाई शिक्षक नभन्ने समितिको निष्कर्षप्रति पनि शिक्षक महासंघका नेताहरू असहमत छन् ।

उनीहरूले सहजकर्तालाई पनि शिक्षक नै भन्नुपर्ने माग गरेका छन् । शिक्षक हुनका लागि निश्चित मापदण्ड पूरा भएको हुनुपर्ने मन्त्रालयका अधिकारीहरूको तर्क छ ।

उता, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी तत्काल ऐन ल्याउन माग गरेका छन् ।

असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धताअनुरूप प्रतिनिधिसभामा विधेयक पेस नहुँदा आफूहरू सशंकित र आक्रोशित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा समितिमा चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतमा भएका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरी पारित गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

यसमा कुनै विलम्ब र षड्यन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन पनि महासंघले चेतावनी दिएको छ ।

Untitled
Untitled
Untitled