धरान, सुनसरीको धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो सोमबार राति करिब ११ः३० बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक धरान–१३ निवासी बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ निवासी सुमन आचार्य गम्भीर घाइते भएका थिए।
दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
त्यस्तै, दुर्घटनामा घाइते भएका धरान–२० निवासी पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




































