काठमाण्डू, देशभर मनसुनी प्रणाली थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम उल्लेखनीय रूपमा बढेको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक, औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि अझ सक्रिय बनेको हो।
यही प्रणालीका कारण अधिकांश भू-भागमा बदली छाएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थान तथा मधेश र सुदूरपश्चिमका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिनभर कुन क्षेत्रमा बढी वर्षा ?
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदली रहने मौसमविद्ले बताएका छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
मधेश प्रदेशका अधिकांश क्षेत्र, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भाग र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
हिमाली क्षेत्रमा पनि वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भू-भागका केही क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति झन् बढ्न सक्छ वर्षाको तीव्रता
मौसमविद्का अनुसार रातिको समयमा वर्षाको प्रभाव अझ बढ्ने सम्भावना छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली कायम रहनेछ भने कर्णाली र सुदूरपश्चिममा पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ।
राति विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
मधेश प्रदेशका केही स्थानमा पनि अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
बाढी, पहिरो र डुबानको उच्च जोखिम
लगातार वर्षाका कारण नदी, खोला र खोल्सामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम उच्च रहेको विभागले चेतावनी दिएको छ।
विशेषगरी पहाडी जिल्लाका भिरालो भू-भाग, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
तराई क्षेत्रमा पनि डुबान, सडक जलमग्न हुने तथा सहरी क्षेत्रमा पानी जम्ने सम्भावना रहेकाले स्थानीय प्रशासनले आवश्यक तयारी गर्न विभागले सुझाव दिएको छ।
दैनिक जनजीवनमा असर पर्ने सम्भावना
महाशाखाका अनुसार सक्रिय मनसुनका कारण कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्छ।
पहाडी राजमार्गमा पहिरो खस्ने, नदीमा बहाव बढ्ने तथा ग्रामीण सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।
यस्तै, किसानलाई खेतबारीमा काम गर्दा, नदी किनार तथा खोल्सामा बसोबास गर्ने समुदायलाई सतर्क रहन र स्थानीय तह तथा विपद् व्यवस्थापन निकायका सूचनालाई पालना गर्न विभागले अनुरोध गरेको छ।
मौसमविद्का अनुसार मनसुनी प्रणाली अझै केही दिन सक्रिय रहने सम्भावना रहेकाले विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका नागरिकले बाढी, पहिरो तथा चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।




































