२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

साफ यु–२० च्याम्पियनसिपको उपाधि बंगलादेशको पोल्टामा

Untitled
Untitled
Untitled

काठमाण्डू, बंगलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासंघ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बंगलादेशले सो उपाधि पहिलोपटक जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बंगलादेशले नेपालमाथि ४–१ गोलको जीत निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि दुईपटक फाइनलमा पुगेको बंगलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो ।

सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवैपटक भारतसँग पराजित हुँदै बंगलादेश उपविजेतामा सीमित बनेको थियो ।

बंगलादेशको जीतमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ७१औँ मिनेटमा बंगलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।

त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बंगलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।

यसैगरी, बंगलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे ।

त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बंगलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जीत हासिल गर्यो ।

हारसँगै साफ च्याम्पियनसिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।

नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनसिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो ।

उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

उक्त च्याम्पियनसिप यसअघि कहिले साफ यु–१८ र कहिले साफ यु–२० को नामबाट सञ्चालन हुँदै आएको छ ।

त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनसिपमा पनि नेपालले उपाधि जितेको थियो ।

त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी, सेमिफाइनलमा नेपालले भुटानलाई तथा बंगलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनशिपको फाइनलमा स्थान बनाएका हुन् ।

यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका थियो । तर, वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

Untitled
Untitled
Untitled