एजेन्सी, भारतले नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
आफ्नो पहिलो खेलमा पाकिस्तानले दिएको १ सय ९ रनको लक्ष्य भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि स्मृति मान्धनाले ४५, शफाली वर्माले ४० र दयालन हेम्लताले १४ रन बनाए । पाकिस्तानका लागि सैयदा आरुब शाहले दुई र नशरा सन्धुले एक विकेट लिए ।
त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान १९।२ ओभरमा १ सय ८ रनमा अलआउट भयो ।
उसका लागि सिद्रा अमिनले २५, फातिमा साना र तुबा हसनले २२/२२ र मुनिबा अलीले ११ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि दीप्ती शर्माले तीन तथा रेणुका सिंह श्रेयंका पाटिल र पूजा वस्त्रकारले दुई/दुई विकेट लिए ।
समूह ‘ए’ अन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जीत हो ।
नेपालले अब दोस्रो खेलमा आइतबार पाकिस्तानसँग खेल्ने तालिका छ ।