२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

आईपीएल क्रिकेटमा रोहितको शतकका बाबजुद हार्‍यो मुम्बई, चेन्नईको जीतमा धोनीको आक्रामक ब्याटिङ

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले २० रनको जीत निकालेको छ । जारी सिजनमा चेन्नईको यो चौथो जित हो ।

मुम्बई भने घरेलु मैदानको फाइदा उठाउन सकेन । आफ्नो छैटौँ खेलमा चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

उसका लागि पूर्वकप्तान रोहित शर्माले शतकीय पारी खेले पनि टिमलाई जीत दिलाउन सकेनन् ।

उनले ६३ बलमा ११ चौका र पाँच छक्काको सहयोगमा अविजित १ सय ५ रनको पारी खेलेका हुन् । आइपिएलमा रोहितको यो दोस्रो शतक हो ।

यस्तै, तिलक वर्माले ३१, इशान किशनले २३ र टिम डेविडले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

चेन्नईका लागि माथीशा पाथिरानाले सानदार बलिङ गरे । प्लेयर अफ द म्याच घोषित माथीसाले ४ ओभरमा २८ रन दिएर महत्वपूर्ण चार विकेट लिए ।

यस्तै, तुषार देशपाण्डे र मुस्तफिजुर रहमानले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि कप्तान रुतुराज गायकवाड र शिवम दुबेले अर्धशतकीय इनिङ खेले ।

४० बलको सामना गरेका गायकवाडले पाँच छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

यस्तै, अविजित रहेका दुबेले ३८ बलमा १० चौका र दुई छक्काको मद्दतमा ६६ रनको योगदान दिए ।

पूर्वकप्तान महेन्द्र सिंह धोनीले आक्रामक पारी खेले । ४ बल मात्र खेलेका उनले तीन छक्काको मद्दतमा अविजित २० रन जोडे ।

यस्तै, रचिन रवीन्द्र २१, डारेल मिचेल १७ र अजिंक्य रहाणे ५ रनमा आउट भए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले दुई तथा श्रेयस गोपाल र जेराल्ड कोएत्जीले एक/एक विकेट लिए ।

यो जीतपछि चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट ८ अंक जोडेको छ । पराजित मुम्बई आठौँ स्थानमा छ । उसले ६ खेलबाट ४ अंक जोडेको छ ।

Untitled
Untitled
Untitled