२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, विश्वकप लिग–२ अन्तर्गत नेपालले आजबाट पाँचौँ चरणका खेलहरू शुरु गर्दैछ।

पहिलो खेलमा नेपालले अमेरिकासँग सामना गर्ने छ। यो त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिका र युएई दुबैसँग दुई/दुई खेल खेल्ने कार्यक्रम छ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ११:१५ बजेबाट शुरु हुनेछ। जारी संस्करणमा नेपाल दबाबमा रहेको छ।

चौथो चरण सकिँदासम्म नेपाल अंक तालिकामा युएईभन्दा मात्र अगाडि रहेकाले यो सिरिज जित्नैपर्ने अवस्थामा छ।

नेपाल आत्मविश्वासका साथ अमेरिकाविरुद्ध सुखद शुरुआत गर्ने लक्ष्यमा छ।

यद्यपि, हाल उत्कृष्ट लयमा रहेको अमेरिकाविरुद्ध नेपालको प्रदर्शन कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ।

टी–२० विश्वकप छनोटमा च्याम्पियन बनेको नेपाल करिब पाँच महिनापछि एकदिवसीय क्रिकेटमा फर्कँदैछ।

नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत गत जुनमा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले लिग–२ का चार श्रृंखलामा १६ खेल खेल्दा १२ अंकसहित सातौँ स्थानमा रहेको छ।

त्यस्तै, अमेरिका जारी लिग–२ मा २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ। अमेरिका नेपाललाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन्, जसमा दुवै टोलीले समान ३–३ खेल जितेका छन् भने एक खेल नतिजाविहीन भएको छ।

नेपालले अमेरिकामै भएका पछिल्ला दुई खेलमा क्रमशः तीन विकेट र ३७ रनको हार बेहोरेको थियो।

लिग–२ मा प्रत्येक टोलीले नौ श्रृंखलामा ३६ खेल खेल्ने छन्। शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछन्, भने अन्तिम चार टोलीले छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने।

Untitled
Untitled
Untitled