काठमाडौं, विश्वकप क्रिकेट लिग–२ मा नेपालले पीएनजीमाथि सङ्घर्षपूर्ण जीत हासिल गरेको छ।
यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार नेपालले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
यससँगै शीर्ष ३ मा रहँदै नेपालको विश्वकप छनोटमा पुग्ने र एकदिवसीय मान्यता जोगाउने सम्भावना जिवित नै छ।
१८० रनको लक्ष्य नेपालले १२ बल बाँकी रहँदा ७ विकेट क्षतिमा पुरा गरेको हो । लगालग विकेट खसिरहँदा ओपनर आसिफ शेख भने अन्तिमसम्म क्रिजमा टिकेका थिए ।
उनले १३० बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित ८६ रन बनाए ।
७ विकेट खसेपछि ब्याटिङमा आएका सन्दीप लामिछानेले आसिफलाई गतिलो साथ दिए ।
उनी ३५ रनमा अविजित रहे । सन्दीप र आसिफले ७७ रनको साझेदारी गर्दै टिमलाई जीत दिलाएका थिए ।
पहिलो बलमै ओपनर कुशल भूर्तेल आउट भएपछि नेपालमाथि दबाब सुरु भएको थियो । ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहीत पौडेल, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी दोहोरो अंकको रन नबनाई पेभेलिएन फर्किएपछि नेपाल ७४ रनमा ६ विकेटको अवस्थामा पुगेको थियो ।
कुशल मल्लले २३ रन बनाएर केही आशा जगाएपनि उनी आउट भएपछि नेपाल हारउन्मुख देखिएको थियो । तर, आसिफ र सन्दीपले टिमलाई जीतसम्म पुर्याए ।
पीएनजीका आसाद भालाले ३ र सेसे बाउले २ विकेट लिए । पहिले ब्याटिङ गरेको पीएनजी १७९ रनमा अलआउट भएको थियो ।
पीएनजीका टोनी उराले ३९ र हिरी हिरीले ३१ रन बनाए । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ तथा सन्दीप लामिछाने, कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए ।
यो जीतसँगै नेपालको ३१ खेलबाट ३० अंक भएको छ । अब नेपालले पाँच खेल खेल्न बाँकी छ । सबै खेल जित्न सके नेपाल विश्वकप क्वालिफायरमा छनोट हुनेछ । एकदिवसीय मान्यता बचाउन भने तीन खेल जिते पुग्नेछ ।