काठमाडौं, अमेरिकी नागरिकलाई ठगी गरेर रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो।
उनीहरूविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो। अदालतले एक अभियुक्तलाई भने ५० हजार रुपैयाँ धरौटी मागेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो।
पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दाबी गरिएको छ।
त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो।
यसअघि अमेरिकाबाट आफ्नो कम्पनीको नाममा आएको लाखौँ डलर नेपाल राष्ट्र बैंकले रोकेको भन्दै शाहले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई समेत गुहारेका थिए। यही कारण शर्मा विवादमा आएका थिए।