अमेरिका, अमेरिका निवासी अनिल पाण्डे माथि धम्की र गालीगलौज भएकोछ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो आजीवन सदस्य अनिल पाण्डेमाथि भएको धम्की र गालीगलौज घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित बे एरियामा बसोबास गर्दै आएका पाण्डेमाथि विभिन्न निराधार आरोप लगाइ सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास मात्र नभई ज्यानको धम्की समेत दिइएको तथ्य सार्वजनिक भएको छ।
मदरल्याण्ड नेपाल र सानफ्रान्सिस्को नजिकै रिचमण्डमा स्थापित मुक्तिनाथ धामका अध्यक्षसमेत रहेका पाण्डेको तस्वीर टाँसिएको ब्यानरमा आपत्तिजनक शब्दहरू लेखिएको र पर्चा वितरण गरेर अपमानजनक प्रचार गरिएको उनले बताए ।
गत जुलाई २६ देखि २८ सम्म मुक्तिनाथ मन्दिर परिसरमा आयोजित ३ दिने श्रीमद् भागवत कथा वाचनकै अवधिमा त्यस्तो दुस्साहसपूर्ण कार्य भएको उनको आरोप छ।
धार्मिक गतिविधि र मदरल्याण्ड नेपालको सक्रियता मन नपर्ने समूहले योजनाबद्ध रूपमा यस्तो कार्य गरेको उनको भनाइ छ।
पाण्डेले आफूलाई ज्यानमार्ने धम्की दिइएको र व्यक्तिगत तथा धार्मिक आस्थामाथि अपमानजनक आक्रमण भएको भन्दै गहिरो पीडा प्रकट गरे ।
साथै मानवअधिकारकर्मी, लोकतन्त्रप्रेमी तथा धार्मिक स्वतन्त्रताको पक्षमा उभिने समुदायसँग आफ्नो र धार्मिक आस्थाको सुरक्षाका लागि सहयोग मागेका छन् ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विज्ञप्ति जारी गर्दै पत्रकार पाण्डेमाथि गरिएको धम्की, गालीगलौज र चरित्रहत्या प्रयासको कडा भर्त्सना गरेको छ।
विज्ञप्तिमा महासचिव ईश्वरी न्यौपानेले सम्बन्धित निकायलाई गम्भीरताका साथ यस प्रकरणलाई लिएर पाण्डेको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका छन् ।











































