काठमाडौ, नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति चयनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुन लागेको हो ।
मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जना भाग लिन पाउने छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।
उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन् । रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन् ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । एमालेले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ ।