२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एसीसी कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आज बिदाइ गरेको छ ।

क्यानले आज काठमाडौंमा आयोजना एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

नेपाली टोली आजै श्रीलङ्का प्रस्थान गर्दैछ । सो प्रतियोगिता भने यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । त्यस्तै, समूह ‘बी’ ​मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान टोली रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग यही असार २९ गते खेल्ने छ । त्यस्तै, नेपालले आफ्नो दोस्रो खेल १ साउनमा भारत ‘ए’ सँग खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले ३ साउनमा यूएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघि टोलीमा समावेश भएका आरिफ शेखले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।

उनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै नाम फिर्ता लिएका छन् । अब उनको स्थानमा पवन सर्राफले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन सर्राफ र सन्दीप जोरा छन् ।

Untitled
Untitled
Untitled