काठमाडौ, संसदको अवरोध खुलाउन आज पनि तीन शीर्ष नेताबीच छलफलमा जुुट्दै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो ।
यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो । तीन नेताबीच प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो ।
यद्यपि छलफललगत्तै एमाले फेरि संसद्को अवरोध हटाउन सकारात्मक भएन । एमालेले संसद् खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
यही १८ असारमा प्रधानमन्त्री दाहालले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।


































