चितवन, लगातारको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला विपद् व्यवस्थापन समिति चितवनको मंगलबार बिहान बसेको आपतकालीन बैठकले अर्को सूचना जारी नभएसम्म सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
अविरल वर्षाका कारण सोमबार साँझदेखि नै सडकखण्डका तुइनखोला लगायतका विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो झर्ने क्रम जारी रहेको छ।
यसका कारण सडक पटक–पटक अवरुद्ध बन्दै आएको थियो।
सोमबार राति सडकबीच अलपत्र परेका यात्रु र सवारीसाधनलाई पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।
तर, वर्षा नरोकिएको र थप पहिरो खस्ने जोखिम उच्च रहेकाले अहिले सम्पूर्ण सवारी सञ्चालन स्थगित गरिएको स्थानीय प्रशासनले जनाएको छ।
मंगलबार बिहान जलवीरे नजिकै पुनः पहिरो खसेपछि सडक डिभिजन कार्यालय चितवनले डोजर तथा अन्य उपकरण परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।
प्रशासनले अत्यावश्यक बाहेक यस मार्गमा यात्रा नगर्न र यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षाकर्मीको निर्देशनअनुसार अघि बढ्न आग्रह गरेको छ।
सडकको अवस्थाबारे जानकारी तथा आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।




































