काठमाण्डौ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण हेटौँडाबाट काठमाडौं आउने–जाने सबै छोटो दूरीका सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं आवागमनमा कडाइ गर्दै अधिकांश सडकमा सवारी सञ्चालन रोक लगाएको छ।
प्रशासनका अनुसार कान्तिलोकपथ अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
त्यस्तै हेटौँडा–भैँसे–भीमफेदी, भैँसे–पालुङ–नौबिसे तथा हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा पनि पहिरोको उच्च जोखिमका कारण सवारी आवागमन रोकिएको छ।
हेटौँडा–भैँसे–भीमफेदी सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारीसाधनलाई हेटौँडा बजार क्षेत्रमै रोकिएको छ।
भैँसेदेखि सिमभञ्ज्याङसम्मको सडक पनि जोखिमपूर्ण बनेकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यता, हेटौँडा–कुलेखानी–फाखेल सडक अन्तर्गत सुकौरामा खसेको पहिरो रातारात हटाइए पनि थप पहिरो खस्ने सम्भावना रहेकाले तत्कालका लागि सडक सञ्चालनमा नल्याइएको प्रहरीले जनाएको छ।
त्यसैगरी हेटौँडा–सिस्नेरी–काठमाडौं सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी क्षेत्रमा आएको बाढीका कारण रातभर सवारीसाधन रोकिएका थिए।
मंगलबार बिहानदेखि भने बीच बाटोमा रोकिएका साना सवारीलाई सावधानीपूर्वक पार गराउन थालिएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।
हालको अवस्थालाई मध्यनजर गर्दै सिन्धुली मार्ग र पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणगढको मार्ग प्रयोग गर्न मात्र अनुमति दिइएको छ।
अन्य सबै छोटो सडकमार्गमा सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।
यद्यपि, नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि पहिरोको जोखिम उच्च रहेकाले चितवन प्रशासनले उक्त सडकमा समेत सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ।
यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायको पछिल्लो सूचना लिएर मात्रै गन्तव्यतर्फ लाग्न प्रशासनले आग्रह गरेको छ।




































