२०८३ असार ३० मंगलवार | Tuesday, Jul 14 2026

लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

Untitled
Untitled
Untitled

रसुवा, मनसुन सक्रिय भएसँगै रसुवाको ल्हेन्दे खोलामा लेदो मिसिएको बाढीको जोखिम बढ्न थालेपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द गरिएको छ।

सम्भावित प्राकृतिक विपद्बाट आयोजना, विद्युत् उत्पादन प्रणाली तथा अन्य महत्वपूर्ण संरचनालाई सुरक्षित राख्ने उद्देश्यले आइतबार साँझदेखि विद्युत् उत्पादन स्थगित गरिएको आयोजनाले जनाएको छ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार ल्हेन्दे खोलामा पानीको सतहसँगै लेदोको मात्रा तीव्र रूपमा बढ्न थालेपछि जोखिम मूल्याङ्कन गरी तत्काल उत्पादन बन्द गर्ने निर्णय गरिएको हो।

उनले मौसम तथा नदीको बहाव निरन्तर अनुगमन भइरहेको बताउँदै अवस्था सामान्य बनेपछि उत्पादन पुनः सञ्चालन गरिने जानकारी दिए ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बाँध, पानी संकलन प्रणाली, सुरुङ तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि लामो समय लगाएर मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो।

सोही अनुभवका आधारमा यसपटक सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न सुरुङतर्फ पानी लैजाने मुख्य गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।

रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले नदीको बहाव, वर्षाको अवस्था तथा सम्भावित जोखिमको चौबीसै घण्टा निगरानी भइरहेको जानकारी दिए ।

उनका अनुसार प्राविधिक टोली उच्च सतर्कतामा राखिएको छ र सबै सूचक सुरक्षित देखिएपछि मात्रै पुनः विद्युत् उत्पादन शुरु गरिनेछ।

यसैबीच, भोटेकोशी नदीमा पनि पानीको बहाव बढेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक ट्रक, कन्टेनर तथा नयाँ आयात गरिएका सवारीसाधनलाई सुरक्षित स्थानमा सारिएको छ।

सुरक्षाकर्मीका अनुसार नदीको बहाव थप बढेमा भन्सार यार्डको उत्तरी क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना रहेकाले समयमै सवारीसाधन स्थानान्तरण गरिएको हो।

भन्सार क्षेत्रमा कार्यरत चालक तथा व्यवसायीहरूले भने बाढीको जोखिम न्यूनीकरणका लागि स्थायी तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि) सँग माग गरेका छन्।

उनीहरूका अनुसार प्रत्येक वर्ष दोहोरिने बाढीका कारण भन्सार यार्ड असुरक्षित बन्दै गएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले स्थानीयवासीलाई ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास अनावश्यक रूपमा नजान, नदी किनारमा सवारीसाधन नराख्न तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरे ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको बाढीका कारण मैलुङ सडकखण्डमा सामान्य प्रभाव परेको भए पनि जिल्लाका अन्य स्थानमा हालसम्म ठूलो क्षति भएको जानकारी प्राप्त भएको छैन।

यद्यपि मौसमको अवस्था परिवर्तनशील रहेकाले सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

मैलुङ सडकखण्ड जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले केरुङ–रसुवागढी आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न, मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न र प्रशासनले जारी गरेका सुरक्षा निर्देशनको पालना गर्न अनुरोध गरेका छन् ।

लगातारको वर्षाका कारण नदी, खोला र खोल्साहरूमा पानीको बहाव बढ्दै गइरहेकाले नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा अन्य संवेदनशील स्थानमा नबस्न प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ।

सम्भावित विपद्सम्बन्धी कुनै पनि सूचना वा आपत्कालीन अवस्था देखिएमा तत्काल निःशुल्क आपत्कालीन नम्बर १२३४ मा जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रशासनले मनसुन अझ केही दिन सक्रिय रहने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय, आयोजना सञ्चालक र सर्वसाधारणलाई पूर्ण समन्वयका साथ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Untitled
Untitled
Untitled