इलाम, अविरल वर्षासँगै आएको बाढी र सडक भासिने समस्याका कारण पूर्वी नेपालको यातायात प्रणाली गम्भीर संकटमा परेको छ।
इलामलाई पाँचथर, ताप्लेजुङ तथा झापासँग जोड्ने प्रमुख र वैकल्पिक दुवै सडक अवरुद्ध भएपछि तीन जिल्लाको आवागमन प्रभावित भएको छ।
सडक सञ्जाल ठप्प हुँदा यात्रु, व्यवसायी र ढुवानी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्।
मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडक खण्डमा केही दिनदेखि ठूलो सवारीसाधन सञ्चालन हुन सकेको थिएन।
आइतबार मोटरसाइकललाई सीमित रूपमा आवतजावत गर्न दिइए पनि सोमबार थप सडक भासिएपछि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
मुख्य राजमार्ग बन्द भएपछि प्रयोगमा ल्याइएको सिमलगोलाई–तिल्केनी वैकल्पिक सडक पनि अब सञ्चालन हुन सकेको छैन।
जोगमाई खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमाथिबाट बाढी बगेपछि उक्त मार्गसमेत अवरुद्ध भएको हो।
यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याक अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले डुबाएपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालन हुने अवस्था देखिएको छैन।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा र जोगमाई खोलामा स्थायी बेलीब्रिज जडान गर्ने योजना भएपनि आवश्यक संरचना अझै आइपुगेको छैन।
त्यसका कारण वर्षायाममा अस्थायी डाइभर्सनमै भर पर्नुपरेको र हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको अधिकारीहरूको भनाइ छ।
सडक सम्पर्क टुटेपछि झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङका लागि छुटेका मालवाहक ट्रकहरू बीच बाटोमै रोकिएका छन्।
खाद्यान्न, औषधि, निर्माण सामग्री, इन्धन तथा दैनिक उपभोग्य वस्तु बोकेका दर्जनौँ सवारीसाधन माइखोला आसपास अलपत्र परेका छन्।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार लामो समयसम्म ट्रक रोकिँदा सामग्री बिग्रने जोखिम बढेको छ।
विशेषगरी वर्षाको पानीका कारण खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य वस्तुमा क्षति पुग्न सक्ने अवस्था रहेको उनले बताए।
सामान अर्को सवारीमा सार्ने विकल्पसमेत सहज नभएकाले व्यवसायी थप समस्यामा परेका छन्।
मुख्य सडक बन्द भएपछि व्यवसायीहरूले अब इलामका लागि आवश्यक सामग्री तमोर करिडोर हुँदै ल्याउने विकल्पमात्र बाँकी रहेको बताएका छन्।
तर, त्यो मार्ग लामो दूरीको र महँगो भएकाले ढुवानी खर्च उल्लेखनीय रूपमा बढ्ने र त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पर्ने अनुमान गरिएको छ।
यात्रुहरूको अवस्था पनि उस्तै कठिन बनेको छ। अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण सवारीसाधन सञ्चालन नहुँदा पहिरो प्रभावित तथा भासिएको सडकखण्ड पैदल पार गरेर अर्को सवारी खोज्न बाध्य भएका छन्।
निरन्तर वर्षा भइरहेकाले यस्तो यात्रा थप जोखिमपूर्ण बनेको स्थानीयवासीले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका पहाडी जिल्लामा अझै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले नदी तथा खोलामा पानीको सतह बढ्ने, पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय तथा सुरक्षा निकायले मौसममा सुधार आउनेबित्तिकै अवरुद्ध सडक खुलाउने प्रयास गरिने बताएका छन्।
तर, वर्षा नरोकिएकाले तत्काल यातायात सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुने अवस्था नदेखिएको अधिकारीहरूको भनाइ छ।




































